कर्णालीवासीको दसैँ शान्तिपूर्ण, वर्षौँपछि आफन्तसँग मिलन

कर्णालीवासी दसैँको

काठमाडौँ, कार्तिक ९ । यस वर्षको दसैँ कर्णालीवासीले शान्तिपूर्ण र उल्लासमय रूपमा मनाएका छन् । दसैँ मनाउन देश–विदेशबाट घर फर्किने यात्रुले लामो र कष्टकर यात्रा गर्नुपरे पनि गन्तव्यमा पुग्दासम्म ठूलो जनधनको क्षति हुने खालका अप्रिय घटना नभएपछि उनीहरूले सुरक्षित रूपमा पर्व मनाउने अवसर पाएका हुन् ।

दसैँ तथा तिहारलाई लक्षित गरी कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले लागू गरेको ‘चाडपर्व लक्षित सुरक्षा योजना, २०८३’ ले पर्वलाई सुरक्षित बनाउन सहयोग पुगेको प्रहरीले जनाएको छ । असोज २५ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी तयार पारिएको उक्त योजनाअन्तर्गत प्रदेशका १० वटै जिल्लामा सुरक्षा व्यवस्था सुदृढ पारिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो ।

सुरक्षा चुनौती र सम्भावित जोखिमलाई ध्यानमा राखेर नागरिकको जनजीवन सुरक्षित तथा भयमुक्त बनाउने उद्देश्यले योजना कार्यान्वयन गरिएको उहाँले बताउनुभयो । प्रदेशका सबै जिल्लामा सुरक्षा व्यवस्था भरपर्दो बनाउन पाँच हजार ३१४ प्रहरी परिचालन गरिएको थियो ।

सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद प्रहरीले चौबीसै घण्टा सुरक्षा प्रदान गरेको उल्लेख गर्दै प्रहरी नायब महानिरीक्षक सापकोटाले जुवातास तथा सामान्य सवारी दुर्घटनाजस्ता छिटपुट घटना भए पनि ठूलो जनधनको क्षति हुने खालका दुर्घटना नभएको बताउनुभयो । सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन र प्रहरी परिचालनको उचित व्यवस्थापनले अप्रिय घटना हुन नपाएको उहाँको भनाइ छ ।

जुम्लाको तिला गाउँपालिका–५ निवासी रणबहादुर रावतले यस वर्ष कर्णालीवासीले विगतको तुलनामा शान्त र सुरक्षित रूपमा दसैँ मनाउन पाएको बताउनुभयो । उहाँले लामो समयदेखि भेट हुन नसकेका आफन्तसँग पुनर्मिलन हुन पाउनुलाई यस वर्षको दसैँको सबैभन्दा सुखद् पक्षका रूपमा लिनुभयो ।

“विगतभन्दा यस वर्ष कर्णालीवासीको दसैँ शान्त र सुरक्षित बन्यो । कहीँकतै छिटपुट घटना भए पनि दुःखद् र डर लाग्दा घटना सुन्नु परेन । अकल्पनीय दुर्घटना भोग्नुपरेन,” उहाँले भन्नुभयो, “१० वर्षसम्म पनि भेट हुन नसकेका आफन्तसँग यस वर्ष मिलन हुने अवसर जुट्यो । यो नै हाम्रा लागि धेरै खुसीको कुरा हो ।”

त्यस्तै, दैलेखको भैरवी गाउँपालिका–३ निवासी दुर्गा गौतम सापकोटाले परिवार र आफन्तसँग सुखदुःख साटासाट गर्दै दसैँ मनाउन पाउँदा खुसी लागेको बताउनुभयो । मौलिक कला, संस्कृति र वेशभूषामा सजिएर आफन्तसँग भेटघाट गर्ने अवसरले पर्वलाई थप उल्लासमय बनाएको उहाँको भनाइ छ ।

“आफ्नै कला, संस्कृति र वेशभूषामा सजिएर परिवार तथा आफन्तबीच सुखदुःख साटासाट गर्ने अवसर जुट्यो,” उहाँले भन्नुभयो, “वर्षौँदेखि टाढिएका आफन्तसँग भेट्नुको मज्जा अर्कै हुँदोरहेछ । दसैँको अवधिभर कर्णालीमा नराम्रा घटना घटेको सुनिएन । योभन्दा सुखद् कुरा अरू के हुन सक्छ र ?”

दसैँ र तिहारलाई लक्षित सुरक्षा योजना कार्यान्वयनका क्रममा प्रदेश प्रहरीले विभिन्न प्रकारका गस्ती, चेकजाँच र सहायता सेवा सञ्चालन गरेको थियो । प्रहरीका अनुसार मोबाइल गस्ती २८, मोटरसाइकल गस्ती ९८, द्रुत प्रतिकार्य टोली ६०, पैदल गस्ती १४८ तथा लामो र छोटो दूरीका २०४ गस्ती परिचालन गरिएको थियो ।

त्यसैगरी, विशेष, नियमित तथा आकस्मिक चेकजाँचका ६७ र ट्राफिक प्रहरीसहितका संयुक्त चेकजाँचका ४७ टोली परिचालन गरिएको थियो । महत्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीयस्थलको सुरक्षा, यात्रु तथा नागरिक सहायता कक्ष, बैंक तथा वित्तीय संस्थाको सुरक्षा, बजार अनुगमन र विशिष्ट व्यक्तिको सुरक्षामा समेत प्रहरी खटाइएको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार यात्रु तथा नागरिक सहायता कक्ष ३७ स्थानमा सञ्चालन गरिएको थियो भने महत्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीयस्थलको सुरक्षाका लागि ३८ स्थानमा प्रहरी परिचालन गरिएको थियो । बैंक तथा वित्तीय संस्था, सुरक्षा तथा बजार अनुगमनका लागि ३१ र विशिष्ट व्यक्तिको सुरक्षाका लागि १० स्थानमा व्यवस्था मिलाइएको थियो । माइकिङ तथा प्रचारप्रसारका लागि ३४ स्थानसहित अन्य जिम्मेवारीमा समेत प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ ।

यस वर्षको दसैँमा सुरक्षा व्यवस्थासँगै वर्षौँदेखि टाढिएका आफन्तसँगको पुनर्मिलन, पारिवारिक भेटघाट र सांस्कृतिक परम्पराको निरन्तरताले कर्णालीवासीमा खुसी थपेको छ । लामो दूरीको यात्रा र विभिन्न कठिनाइका बाबजुद सुरक्षित रूपमा घर पुगेर पर्व मनाउन पाउनुलाई उनीहरूले दसैँको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *