पढेर विदेश जानुभन्दा नेपालमै अवसर प्रशस्त छ : अध्यक्ष ओली

चितवन, १५ असार । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीका लागि विदेश जानु भन्दा नेपालमै प्रशस्त अवसर भएको बताउनुभएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आज आयोजना गरिएको कृषि उद्यमबाट संवृद्धि विषयक कार्यक्रममा उहाँले नेपालमा केही हुँदैन भनेर विदेश जानुभन्दा कृषि कर्मबाट नेपालमै प्रशस्त अवसर खोज्न सकिने बताउनुभएकाे हाे ।

विद्यार्थी र ओलीबीच प्रश्नोत्तर शैलीमा सञ्चालन गरिएको कार्यक्रममा प्रश्नको जवाफ दिँदै उहाँले विदेशमा गएर कामदार बन्नुभन्दा यहीँ उद्यमी बन्नु उपयुक्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक जना व्यक्तिको जीवनकालमा धेरै परिवर्तन हुन सक्छ भने अध्ययन गरेका विद्यार्थीको जीवनकालमा नेपालमा नै सम्भव नहुने केही छैन ।”

यहाँ जति अवसर विदेशमा नमिल्ने अध्यक्ष ओलीकाे भनाइ थियो । पढेका सक्षम विद्यार्थी बाहिर गएर कामदार मात्रै बन्ने भन्दै उहाँले पढाइ सकिएपछि विदेश जाने सोच बनाउन नहुने बताउनुभयो ।

नेपालको कृषिलाई आधुनिक तरीकाले गर्न सकिने भन्दै उहाँले देशलाई आवश्यक पर्ने खाद्यान्न आफैले उत्पादन गर्नुपर्ने बताउनुभयो । यहाँ उत्पादित वस्तु बिक्री नभएर सडकमा छरिने क्रम रोक्न प्रविधिको प्रयोगबाट उत्पादित वस्तुको सुरक्षित भण्डारण गर्न सक्नुपर्ने उहाँको भनाइ थियो ।

हरेक काममा सक्रियता भए मात्रै सफल हुने भन्दै उहाँले भन्नुभयो, “सक्रियता छ जीवन छ । सक्रियता छैन जीवन छैन ।” कुन काम कसरी गर्ने र कसले गर्ने भन्ने विषय अध्ययन गरेर गर्न सके नेपालमानै स्थापित हुन सकिने उहाँको भनाइ थियो ।

वैदेशिक रोजगारमा गएर फर्कंदै गर्दासमेत यहाँ स्थापित हुन समय लाग्ने भन्दै यहाँ अहिलेदेखि काम गर्न सके राम्रो हुने उहाँले बताउनुभयो । कृषि व्यवसाय र कृषि उद्योगबाट सफल बन्न सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै युवा उद्यमी ससन देवकोटाले नेपालबाट ५० प्रतिशत दक्ष कामदार विदेश पलायन भएको बताउनुभयो । अध्ययन सकेर बसेका विद्यार्थी विदेश जाने तयारीमा रहेको भन्दै उहाँले कृषि क्षेत्रमा उद्यम गर्ने कार्यमा पाँच प्रतिशत मात्रै रहेको बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *