देशभर बिहानैदेखि वर्षा : वर्षासंगै बाढीपहिरोको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं, १९ असार । मंगलबार देशभरका अधिकांश स्थानमा बिहानैदेखि वर्षा भइरहेकाे छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेका कारण अधिकांश भागमा पानी परिरहेको हाे ।

हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाल जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइरहेको छ‍।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

महाशाखाले वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने जनाएको छ।

भारी वर्षा, मेघगर्जन रचट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।