नेपालले मलेसियालाई उपाधि जित्नका लागि दियो २५३ रनको लक्ष्य
काठमाडाैं, १९ असार । नेपालले मलेसियालाई एसिसी यू-१६ इस्ट जोन कपको उपाधि जित्नका लागि २५३ रनको लक्ष्य दिएको छ।
मलेसियाको बायुमास ओभलमा भइरहेको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५३ रनको लक्ष्य दिएको हाे ।
नेपालका लागि नरेश भट्टले शतक प्रहार गर्न सफल भए। उनले नटआउट ११२ रन जोड्ने क्रममा ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे। त्यसअघि ओपनरद्वय सूर्यान्सु कोइराला १८ रन र निरजकुमार यादव ४७ रन जोडेर आउट भए।
यस्तै सन्तोष यादवले २६ रनको योगदान गर्दा कप्तान अभिषेक तिवारी ४ रन र अशोक धामी ११ रनमा आउट भए।
यसअघि एसिसीको आयोजना भएको यू-१६ इस्टर्न रिजनमा नेपालले लगातार दुई उपाधि जितेको थियो।
उपाधि जित्न सफल भए नेपालले एसिसीको यू-१६ स्तरको प्रतियोगितामा ह्याट्रिक गर्नेछ।
