मेलम्चीको पानी वर्षा कम भएपछि मात्र काठमाडौं ल्याइने

काठमाडाैं,२२ असार । मेलम्चीको पानी वर्षा कम भएपछि मात्र काठमाडौं उपत्यकामा ल्याइने भएको छ ।

मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको हाे ।

नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौं ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।

वर्षा रोकिए सङ्लो पानी भएको अवस्थामा पुनः पानी काठमाडौं उपत्याकामा ल्याइने पन्तको भनाइ छ ।

आयोजनाले काठमाडौं उपत्यकामा पानी यस वर्ष वर्षाभर नै बन्द नगर्ने गरी योजना बनाएको थियो । लेदोसहितको पानी आएपछि सुरुङ केही समय बन्द गरिएको हो ।

आयोजनामा संलग्न दातृ निकाय र परामर्शदाता कम्पनीले चलाउँदै बन्द गर्दै गर्दा सुरुङमा समस्या आउनसक्ने सम्भावना भएकाले वर्षा हुँदासम्म बन्द गर्न सुझाब दिएको उहाँले बताउनुभयो । “पानी पठाउँदा बालुवा र माटो थुप्रिन सक्ने भएकाले बन्द गरिएको हो”, पन्तले भन्नुभयो ।

मेलम्चीको पानी विगत वर्षमा पनि हिउँदमा काठमाडौं ल्याइएको भए पनि वर्षामा सुरुङ बन्द गरिएको थियो ।