अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो ताल क्षेत्रबाट १५० किलो फोहोर सङ्कलन
मनाङ, २६ असार । अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो ताल क्षेत्रमा सरसफाई गरिएको छ ।
फोहोरको मात्रा बढ्दै गएपछि मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसारका होटेल व्यवसायी, अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसार, सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय हुम्दे र स्थानीयको सक्रियतामा सरसफाई गरि फोहोर सङ्कलन गरिएको हो ।
तालमा आवातजावतका क्रममा पर्यटकले फालेका एक सय ५० किलोग्राम फोहोर सङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । कोभिड–१९ को संक्रमणपछि पछिल्लो समय यस पदमार्गमा पर्यटक बढेसँगै फोहोर हुने क्रम बढेको उहाँको भनाइ छ ।
“विदेशीले आफैँ बोकेर फर्किन्छन् भने आन्तरिक पर्यटकले बढी फोहोरजन्य पदार्थ फाल्ने गरेको पाइएको छ”, गौतमले भन्नुभयो, “ताल जाने बाटोमा विभिन्न स्थानमा डम्पिङ साइट बनाइएको छ, तर फोहोरमैला भने यत्रतत्र फालिएको पाइयो ।”
पदमार्गमा धेरैजसो चाउचाउ, बिस्कुट, चकलेटका खोल र कोकाकोलाको बोतल भेटिएको उहाँले बताउनुभयो । ती जथाभावी फालिएका फोहोरमैला डम्पिङ साइटमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
तिलिचो पदमार्गका विभिन्न स्थानमा यत्रतत्र छरिएर रहेका प्लास्टिकजन्य फोहोर संकलन गरिएको पर्यटन व्यवसायी एवं अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसारका सचिव टसी गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त मार्गअन्तर्गत नकुहिने फोहोरमैला मात्रा बढेकोले सरसफाई तथा व्यवस्थापन गरिएको हो । “यस पदमार्गमा पर्यटक बढ्दै जाँदा फोहोर पनि बढेको छ, यहाँको फोहोरमैला संकलन गरी व्यवस्थापन गर्दै आएका छौं”, उहाँले भन्नुभयो ।
तीन दिनसम्म चलेको ‘पदमार्ग सफाइ’ अभियनमार्फत अन्नपूर्ण पदमार्गमा पानी तथा कोकाकोलाका बोतल, चाउचाउ र बिस्कुटका खोल ठूलो मात्रामा भेटिएको थियो । गौतमका अनुसार अन्नपूर्ण पदमार्गअन्तर्गत तिलिचो ताल जाने पदैलमार्गको खाङसारदेखि चार हजार नौ सय १९ मिटर उचाईमा रहेको तिलिचो तालको किनारमा सरसफाई गरिएको छ ।
यस तालबाट अन्नपूर्ण हिमश्रृङ्खलाको मनोरम दृश्यावलोकन गर्नकै लागि यहाँ पर्यटकको भिड लाग्ने गरको छ । मनाङ पुगेका केही पर्यटक तिलिचो तालमा पुग्ने गरेका छन् । कतिपय पर्यटक तिलिचो ताल अवलोकन गरी फर्किएर खाङ्सार, थोराङला पास हुँदै जोमसोम निस्कने गर्दछन् ।
लमजुङको सदरमुकाम बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङको सदरमुकाम चामे हुँदै थोराङपास गरी मुक्तिनाथको दर्शन, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुग्ने गर्दछन् ।