बंगलादेशसँगको मैत्रीपूर्ण श्रृंखलामा नेपाल विजयी

काठमाडौं, ३१ असार । बंगलादेशसँगको मैत्रीपूर्ण महिला फुटबल शृंखलामा नेपाल विजयी भएकाे छ ।

आइतबार ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई टाइब्रकेरमा ४–२ ले पराजित गर्दै जित हात पारेको हो ।

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा टुंगिएको थियो भने दोस्रो खेलको निर्धारित समय पनि गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको हो ।

टाइब्रेकरमा नेपालकी गोलरक्षक अन्जना राना मगरले दुई पेनाल्टी प्रहार बचाएकी थिइन् । उनी इन्ज्युरी समयमा कप्तान एन्जिला तुम्बापो सुब्बाको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो । बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाइन् ।

एशियाडको तयारीमा रहेको नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।