बूढानीलकण्ठका विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिने
काठमाडाैं, ४ साउन । बूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन खुलाएको छ ।
नगरपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोटका लागि आवेदन खुलइएको हो ।
नगरपालिकाले खुलाएको आवेदनमा नगरभित्र कार्यरत योग्यता र क्षमता भएका शिक्षक शिक्षिकालाई आवेदन दिन आह्वान गरेको छ । त्यसका लागि आवेदकले आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
आधारभूत तह कक्षा १ देखि ८ सम्मका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ । त्यसैगरी माध्यमिक तहका लागि विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने नगर शिक्षा शाखा प्रमुख उपसचिव ललितविक्रम सिंहले बताउनुभयो ।
प्रतिस्पर्धाका आधारमा छनोट गर्दा क्षमता भएका प्रधानाध्यापकले विद्यालयमा नेतृत्व होस् र अब्बल तरिकाले विद्यालयको नेतृत्व हुनुपर्छ भनेर नगरपालिकाले यस्तो तयारी गरेको नगर प्रवक्ता नवराज भट्टराईको भनाइ छ ।
यसअघि प्रावि र निमावि तहका प्रधानाध्यापक पनि लामो समयको अनुभव तथा जेष्ठताका आधारमा मावि तहसम्मका प्रअ हुने खालका परम्पराको अन्त्य गर्दै क्षमतावान शिक्षक छनोट गर्न र विद्यालयलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउन आवेदन खुलाएको उहाँले बताउनुभयो ।
आवेदक सबैले कम्तीमा पाँच वर्ष स्थायी सेवा गरेको हुनुपर्ने, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको र उच्च नैतिक चरित्र भएको व्यक्ति हुनुपर्ने आवेदनमा जनाइएको छ ।