छठ पर्व सम्पन्न: उदाउँदो सूर्यलाई अघ्र्य दिँदै व्रतालुले टुंगाए चारदिने अनुष्ठान

काठमाडौँ, ३० कात्तिक । सूर्यदेवको आराधनामा मनाइने चारदिने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ ।

गाईको दूध, फूल र जलले उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । बिहानै घाटमा गरिने यस्तो पूजालाई भिन्सरघाट भनिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार आज बिहान ६ बजेर १९ मिनेटमा सूर्योदय भएको थियो । सूर्योदयअघि व्रतालुहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्यको प्रतीक्षा गर्दै दर्शन गर्छन् । छठ समापनपछि घाटमा प्रसाद वितरण गरिएको छ ।

पृथ्वीका जीवको सञ्चालन र संरक्षण जल तथा सूर्यबाट हुने भएकाले नदीलाई माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोत मानेर विशेष पूजा गर्ने धार्मिक विश्वास छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्दा मनोकाङ्क्षा पूरा भई इच्छित फल प्राप्त हुने कुरा शास्त्रमा उल्लेख भएको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए । सूर्यषष्ठी पनि भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजाआराधना गर्नुपर्ने निर्देशन शास्त्रमा रहेको उनको भनाइ छ ।

यस अवसरमा विवाहित महिला र पुरुषले जीवनसाथीको दीर्घायुका लागि, अविवाहितले सुयोग्य वर वा वधु प्राप्तिका लागि सूर्यपूजा गर्छन् । सन्तानप्राप्तिको कामनाले पर्व मनाउनेको सङ्ख्या पनि उल्लेख्य छ । यो व्रतले मनले चिताएको पूरा गर्ने धेरै भक्तजनको विश्वास छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्व शुक्रबारदेखि सुरु भएको थियो । चतुर्थीका दिन स्नान गरी चोखो भोजन गरिन्छ । त्यसपछि पर्व नसकिञ्जेल व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि नखाने विधि छ । आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएपछि पर्वको समापन भयो ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेषगरी महिलाले कठोर व्रत बस्ने गर्छन् । मूलतः तराईमा मिथिला संस्कृतिअनुसार मनाइने छठ विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको हो । विसं २०६३ यता काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा विशेष महत्त्वका साथ मनाइन थालेको थियो । तर विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि रानीपोखरीमा छठ हुन छाडेको छ । पछिल्लो समय कमलपोखरीमा भने भव्य रूपमा मनाइन थालिएको छ ।

यसपटक आइतबार गुह्येश्वरी, कमलपोखरी, थापाथली र बल्खुलगायतका स्थानमा बनेका छठ घाटलाई बेहुलीझैँ सिँगारिएको थियो । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएझैँ आज बिहान पनि उदाउँदो सूर्यलाई अघ्र्य दिन व्रतालु राजधानीका छठ घाट पुगेका थिए । धेरै व्रतालुले रातभर गुह्येश्वरी गौरीघाट क्षेत्रमा जागराम बसेको छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए ।

दुई दशकअघिसम्म पूर्वी तराई मधेसका केही जिल्लामा मात्र सीमित छठ देशव्यापी बनेपछि सरकारले यस वर्षदेखि कार्तिक शुक्ल सप्तमीका दिन पनि सार्वजनिक बिदा दिएको छ । पर्वमा सबै धर्मावलम्बी र समुदायको सहभागिता बढ्दै गएको छ ।

धार्मिक विश्वासअनुसार छठीमाताले सूर्यदेवलाई प्रसन्न पारेपछि यो पर्व मनाउन थालिएको हो । महाभारतकालमा द्रौपदीसहित पाण्डवहरूले अज्ञातवासमा सफलताका लागि सूर्यदेवको आराधना गरेका थिए । पाण्डवहरू मिथिलाको विराट राजाको दरबारमा बस्दा गरिएको सूर्यपूजाको प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व सुरु भएको भनाइ छ ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । त्यसको फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको जनविश्वास छ । त्यही बेलादेखि छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *