बन्दीपुरमा पर्यटकको ओइरो, होटलमा कोठा पाउनै मुस्किल

तनहुँ, ३० कात्तिक। चाडपर्वको बिदा र पर्यटकीय याम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ। पर्यटकको आगमन बढेपछि यहाँका होटल तथा होमस्टे भरिभराउ भएका छन् भने कतिपय पर्यटकले बास नपाएर फर्किनुपर्ने अवस्था आएको छ।

पर्यटकको चाप बढेसँगै बन्दीपुर बजारमा चहलपहल पनि उल्लेख्य बढेको छ। होटलमा कोठा पाउन मुस्किल हुन थालेपछि कतिपय पर्यटक नजिकैको डुम्रे बजारसम्म पुग्न बाध्य भएका छन्।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष राजु बानियाँका अनुसार अहिले बन्दीपुरमा पर्यटकको चाप थामिनसक्नु छ। होटल तथा होमस्टे भरिभराउ हुँदा पर्यटकको व्यवस्थापन गर्नसमेत कठिन भएको उहाँले बताउनुभयो।

उहाँका अनुसार चाडपर्वको लामो बिदा र पर्यटकीय याम एकैपटक परेकाले स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको हो। बन्दीपुरमा बास बस्न चाहने सबै पर्यटकलाई कोठा उपलब्ध गराउन नसकिएको उहाँको भनाइ छ।

बन्दीपुरका होटल तथा होमस्टेमा गरी करिब एक हजार ४०० जनालाई बास बसाउने क्षमता छ। यहाँ करिब ८० वटा होटल र चारवटा होमस्टे सञ्चालनमा छन्। तर, पानीको अभावका कारण होटलले पूर्ण क्षमतामा पर्यटक राख्न नसकेको अध्यक्ष बानियाँले बताउनुभयो। पानीको उपलब्धताले होटल सञ्चालन र पर्यटक व्यवस्थापनमा समेत असर पारेको उहाँको भनाइ छ।

होटल व्यवसायी वैशबहादुर गुरुङले चाडपर्वको बिदाका कारण बन्दीपुरमा पर्यटकको आगमन उल्लेख्य बढेको बताउनुभयो। परिवार तथा साथीभाइसँग घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दा होटल व्यवसायमा उत्साह थपिए पनि सबैलाई कोठा उपलब्ध गराउन कठिन भएको उहाँले बताउनुभयो।

बन्दीपुर प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, ऐतिहासिक बजार र हिमशृङ्खलाको दृश्यावलोकनका लागि प्रसिद्ध पर्यटकीय गन्तव्य हो। यहाँको पुरानो बजार, स्थानीय जीवनशैली र प्राकृतिक वातावरणले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ।

खड्गदेवी, थानीमाई र महालक्ष्मी मन्दिर, सिद्धगुफा, मणि मुकुन्दसेन पैदलमार्ग (मिनी ग्रेटवाल), तीनधारा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार र पदम पुस्तकालय यहाँका प्रमुख पर्यटकीय गन्तव्य हुन्।

त्यस्तै, भक्तपुरे शैलीमा निर्माण गरिएका घर, रानीवन, रामकोट, सुनखरी, विन्ध्यवासिनी मन्दिर र सूचना केन्द्र पनि पर्यटकका आकर्षणका केन्द्र बनेका छन्। पर्यटकको बढ्दो आगमनले होटल, रेस्टुरेन्ट, होमस्टे तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *