प्रतिनिधिसभाको बैठक स्थगित, मंगलबारलाई सर्याे
काठमाडौं, १५ साउन । आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक मंगलबार बस्नेगरी स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि विभिन्न राजनीतिक दलका आबद्ध प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्नुभए पनि निष्कर्ष निस्कन नसकेकाे हुनाले बैठक मङ्गलबार १ बजेसम्मका लागि स्थगित भएको हो ।
आजको बैठकमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने र ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।
यसैगरी, कानुन, नयाय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम ती आयोगको कार्यावधि थप गर्नेसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।
त्रिभुवन विमानस्थलकाे भन्सारबाट भित्रिएकाे एक क्विन्टल सुन यही साउन ३ गते सिनामङ्गलबाट बरामद भएको थियाे । त्यसैलाई लिएर नेकपा (एमाले)ले बिना सेटिङ त्यत्राे सुन कसरी भित्रियाे भन्दै छानविन हुनुपर्ने माग राख्दै सदनमा विरोध जारी राखेको छ ।