छ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा
लमजुङ, १७ असोज । बाढीपहिरोका कारण छ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ। नासों गाउँपालिका–३ खोत्रो र चामे गाउँपालिका–५ कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुङ्गामाटो हटाएपछि सडक सञ्चालनमा आएको हो।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार अवरुद्ध सडकखण्डमा पहिरो पन्छाएपछि यातायात सञ्चालन गर्न सकिएको हो।
बाढीपहिरोका कारण बेँसीसहर–चामे सडकका विभिन्न खण्डमा पहिरो खस्नुका साथै कतिपय स्थानमा सडकसमेत भासिएको थियो।
सडक सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको ढुवानी तथा आवागमन सहज भएको छ। यससँगै सडकमा रोकिएका सवारीसाधनसमेत गन्तव्यतर्फ जान थालेका छन्।
