नवलपरासी बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइतेकाे पहिचान

नवलपरासी, १७ असोज । नवलपरासी पूर्वमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गको एस मोडमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकबाट नालामा खसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिल पण्डितका अनुसार बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा दुई जना सकुशल रहेका छन्।

मृतकमध्ये जाजरकोटको भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका १० जनालाई प्रहरीले उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको छ।

घाइते हुनेमा गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाकी आकृती, बाजुराका पवन बुढा, बर्दियाका सञ्जय थारु, बाजुराका प्रेम बम, ललितपुरका अनोज खत्री, बर्दियाका लालबहादुर कार्की, बाँकेका अस्लाम भगवान र सल्यानका अनिल बुढाथोकी रहेका छन्। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *