भारतमा कार दुर्घटना हुँदा एकै परिवारका ४ सहित ६ नेपालीको मृत्यु
बाँके, २१ साउन । भारतको श्रावस्ती जिल्लाको बलरामपुरमा कार दुर्घटना हुँदा बाँकेको नेपालगञ्जका एकै परिवारका ४ सहित ६ जनाको मृत्यु भएको छ ।
कार दुर्घटनामा नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ त्रिभुवनचोकका वैभव गुप्ता, उनकी पत्नी दीपिका गुप्ता,५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको मृत्यु भएको हाे।
यसैगरी निलान्स गुप्ता र उनकी बहिनी नीति गुप्ताको पनि दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा निधन हुने ६ जना नै नातेदार हुन् ।
वैभव भारत माइतीमा रहेकी पत्नीलाई साथ लिएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो । घटनामा चालक गम्भीर घाइते रहेका छन् ।
बाँकेका एसपी सन्तोषसिंह राठौरले घटनामा ६ जनाको मृत्यु भएको र उनीहरूको भारतमा नै पोष्टमार्टम हुने बताए । पाेष्टमार्टमपछि शव ल्याउने विषयमा समन्वय गरिरहेको उनले बताए ।