स्वयम्भू संरक्षणका लागि ५ करोड ४० लाख बजेट, गत वर्षभन्दा २५ लाख बढी
काठमाडौँ, ११ कात्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू तथा आसपासका क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आर्थिक वर्ष २०८३/८४ मा पाँच करोड ४० लाख रुपैयाँ खर्च गर्ने गरी बजेट स्वीकृत गरेको छ।
स्वीकृत बजेटमध्ये ३९ प्रतिशत पूर्वाधार विकास तथा संरक्षणमा र ६१ प्रतिशत प्रशासनिक खर्चमा विनियोजन गरिएको छ। यो बजेट गत आर्थिक वर्षको तुलनामा २५ लाख रुपैयाँ बढी हो।
महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्तिका अनुसार स्वयम्भू महाचैत्य तथा यससँग सम्बन्धित संरचनाको जीर्णोद्धार र मौलिक स्वरूप जोगाउन प्राथमिकता दिइनेछ।
महासमितिले स्वयम्भू आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक र धर्मावलम्बीलाई सम्पदाको ऐतिहासिक पक्षबारे जानकारी दिने, नियमित पूजा सञ्चालन गर्ने तथा धार्मिक वनको संरक्षण र वृक्षरोपण गर्दै आएको छ।
त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र काठमाडौँ महानगरपालिकालगायत निकायसँग समन्वय गरी सम्पदाको मर्मतसम्भार तथा संरक्षणका साथै जात्रा, पर्व, धार्मिक महोत्सव र मेला सञ्चालन एवं व्यवस्थापन गर्दै आएको महासमितिले जनाएको छ।
