कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउन संसदीय समितिका सभापतिको निर्देशन
काठमाडौँ, ११ कात्तिक । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागितालाई ठोस उपलब्धिमुखी बनाउनुपर्नेमा जोड दिएको छ । सिंहदरबारमा बुधबार बसेको समितिको बैठकमा सभापति गणेश पराजुलीले जलवायु कूटनीति र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै कोप सम्मेलनमा नेपालको सहभागिता औपचारिक भ्रमणमा मात्र सीमित नराख्न निर्देशन दिनुभएको हो ।
उहाँले अन्तरराष्ट्रिय वार्तामा सहभागी हुने प्रतिनिधि विषयविज्ञ, पर्याप्त तयारीसहित र नेपालको हित प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम हुनुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेतासमेत रहनुभएका सभापति पराजुलीले नेपालको पेभिलियन तथा वृत्तचित्रमार्फत हालैका बाढीपहिरो र जलवायुजन्य विपद्बाट भएको क्षतिलाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।
साथै, विपद्बाट भएको क्षतिका विषयसँगै नेपाल सुरक्षित र पर्यटनका लागि उपयुक्त गन्तव्य रहेको सकारात्मक सन्देश पनि अन्तरराष्ट्रिय समुदायमा प्रवाह गर्नुपर्ने उहाँको भनाइ थियो । बैठकमा सम्बन्धित मन्त्री, मन्त्रालयका सचिव तथा वातावरण महाशाखा प्रमुखसँग कोप–३१ सम्मेलनमा नेपालले उठाउनुपर्ने विषय र अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको थियो ।
संयुक्त राष्ट्रसङ्घमा प्रधानमन्त्री तथा अन्तर–संसदीय सङ्घ (आइपियु)मा सभामुखले व्यक्त गर्नुभएका धारणालाई समेत ध्यानमा राख्दै नेपालको राष्ट्रिय हितअनुकूल वार्ता अघि बढाउनुपर्नेमा समितिले जोड दिएको छ ।
समितिका १५ सदस्यलाई नौवटा विषयगत क्षेत्र समेट्ने गरी पाँच समूहमा विभाजन गर्ने प्रस्तावमाथि पनि बैठकमा छलफल भएको छ । प्रत्येक समूहमा तीन सदस्य रहने र सदस्यहरूको रुचि तथा विषयगत दक्षताका आधारमा जिम्मेवारी निर्धारण गर्ने विषयमा थप छलफल गरिने जनाइएको छ ।
समितिले कोप–३१ सम्मेलनमा जलवायु न्याय, जलवायुजन्य विपद्बाट भएको हानि–नोक्सानी तथा नेपालको राष्ट्रिय हितका सवाललाई प्रभावकारी रूपमा उठाउँदै नेपालको सहभागितालाई ठोस उपलब्धिमा रूपान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
