देशले स्वतन्त्रता र स्वाधीनता उपयोग गर्न पाएको छैन : अध्यक्ष ओली
काठमाडौं, ११ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशले स्वतन्त्रता र स्वाधीनताको पूर्ण उपयोग गर्न नपाएको आरोप लगाउनुभएको छ । उहाँले देशलाई थप संकटमा जान नदिन र स्वतन्त्रता तथा स्वाधीनताको अभ्यास गर्न सक्ने अवस्थामा पुर्याउन आन्दोलनको विकल्प नभएको बताउनुभयो ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज मनोनित केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले आन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।
“अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ । देश कमसेकम स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ,” उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले देशमा नागरिकले बोल्नै नसक्ने गरी राज्य आतंक सिर्जना गरिएको, गुण्डाराज चलिरहेको र सरकार बेलगाम रूपमा फासीवादतर्फ अघि बढिरहेको आरोप लगाउनुभयो ।
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्य बनाएर आधुनिक नेपाल निर्माणको लक्ष्यसहित काम गरिरहेको उल्लेख गर्दै उहाँले देशलाई अहिलेको सङ्कटपूर्ण अवस्थाबाट पार लगाउने अभिभारा पनि पार्टीको काँधमा आएको बताउनुभयो ।
पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढङ्गले अघि बढेमात्र कार्यकर्तामा उत्साह भर्न, जनतामा एमालेप्रतिको आकर्षण फर्काउन र पार्टीको जिम्मेवारी पूरा गर्न सकिने उहाँको भनाइ थियो ।
गत वर्ष फागुन २१ गते भएको निर्वाचनलाई चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला भएको टिप्पणी गर्दै अध्यक्ष ओलीले एमाले सत्य, न्याय, देश र जनताको पक्षमा रहेकाले आगामी स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
