महिला क्रिकेटरका लागि भारतीय प्रशिक्षक नियुक्त

काठमाडाैं, २१ साउन । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय पूर्वमहिला क्रिकेटर देवीका पाल्शिकरलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ ।

भारत र बङ्गालादेशको सहायक प्रशिक्षकका रूपमा काम गरिसक्नुभएकी उहाँलाई कन्सल्यान्ट प्रशिक्षकको रुपमा आज नियुक्त गरिएको क्यानले जनाएको छ ।

देविकाले गत सिजनको वुमन्स प्रिमियर लिगमा मुम्बई इन्डियन्स क्लबबाट ब्याटिङ प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । देविका सन् २०१४ देखि २०१६ सम्म भारतको सहायक प्रशिक्षक हुनुहुन्थयो । उहाँ २०१८ मा बङ्गलादेशको सहायक प्रशिक्षक बन्नुभएको थियो ।

मलेसियामा यही अगस्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म आयोजना हुने आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जस्मा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक मलेसियासँगै बहराइन, भुटान संयुक्त अरब इमिरेट्स (युएई) र कतार रहेका छन् ।

त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।