घोराही सिमेन्टको आईपीओ नेप्सेमा सूचीकृत, कतिमा हाेला काराेबार ?
काठमाडौं, २५ साउन । घोराही सिमेन्टको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता शेयर आज सूचीकृत भएको हो ।
नेप्सेमा शेयर सूचीकृत भएपछि अब लगानीकर्ताले आइतबारबाट यी शेयर खरिद बिक्री गर्न सक्नेछन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि २२६.६१ देखि ६७९.८३ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ ।
यस रेन्जको जुनसुकै मूल्यमा पहिलो कारोबार हुनेछ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ ।
कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० मा ३३५ प्रिमियम थपेर प्रतिशेयर ४३५ रुपैयाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६७० कित्ता शेयर निष्कासन गरेको थियो ।
मागभन्दा ज्यादा आवेदन पर्दा पनि घोराहीले आईपीओ भर्ने समय थप गरेपछि आईपीओमा फर्जी आवेदन भेटिएको थियो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणलाई शेयर निष्कासन गरेको थियो ।
