उपप्रमुख सुनिता डंगोलको रोहवरमा सामुदायिक अध्ययन केन्द्रसँग सम्झौता
काठमाडौं, २९ साउन । काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित स्वयम्भू सामुदायिक अध्ययन केन्द्र र सम्मुनत नेपाल बीच सहयोग प्रदान गर्ने सम्झौता भएको छ ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको रोहवरमा आज सोमवार भएको उक्त सम्झौतामा कामपा १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगोल र अध्ययन केन्द्रका तर्फबाट अध्यक्ष अर्जुन महर्जनले हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौता अनुसार समुन्नत नेपालले युनिसेफसँग सहकार्य गरी अध्ययन केन्द्रलाई रु. आठ लाख सहयोग गर्नेछ । स्वयम्भू सामुदायिक अध्ययन केन्द्र (कम्युनिटी लर्निङ सेन्टर–सीएलसी) ले विद्यालय जान नपाएका वडाका बालबालिकाहरूलाई प्रारम्भिक शिक्षा प्रदान गरी विद्यालय भर्ना गरिदिने र १९ वर्ष कटेका युवा र प्रौढहरुलाई सीप प्रदान गरी रोजगारी सहित व्यवस्थित गर्ने कार्य गर्दै आइरहेको छ ।
वडा अध्यक्ष डंगोलका अनुसार अध्ययन केन्द्रले गत सात वर्षदेखि वडामा यो कार्य सञ्चालन गर्दै आइरहेको छ । यस क्रममा केन्द्रले करिब सय जनालाई व्यवस्थित गरिसकेको छ । अहिले अर्को २३ महिनाका लागि सहयोग प्रदान गर्न यो सम्झौता गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपमेयर डंगोलले हरेक वडामा स्थापना गरिएका कम्युनिटी लर्निङ सेन्टरहरूलाई महानगरपालिकाले पहिले वार्षिक दुई लाख बजेट व्यवस्था गरिएकोमा अहिले यसलाई बढाएर पाँच लाख पुर्याएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हरेक वडामा बच्चादेखि प्रौढसम्मका वडावासीहरूले पढ्ने सिक्ने हब भनेको कम्युनिटी लर्निङ सेन्टर नै होस् भन्ने हामी चाहन्छौँ । त्यसैले यसमा सबैको सहयोग हुनुपर्दछ ।
सम्झौता पश्चात उपमेयर डंगोलले अध्ययन केन्द्रले उत्पादन गरेका सामग्रीहरूको अवलोकन गर्नुभएको थियो ।