महिला टी–२० आई सिरिज : हङकङलाई पराजित गर्दै नेपाल विजयी

काठमाडौँ, ५ भदौ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै विजयी बनेकाे हाे । हङकङले नेपाललाई जितका लागि ८५ रनको लक्ष्य दिएको थियो ।

डेब्यू खेलमै नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गरिन । उनले हङकङविरुद्धको खेलमा १६ रन बनाउनुका साथै एक विकेट समेत लिइन् ।

नेपालका लागि सम्झनाकुमारी खड्काले अविजित ३६ रन बनाइन् । उनले ३६ बल खेल्ने क्रममा पाँच चौकासमेत हिर्काइन् । यस्तै कप्तान रुविना क्षेत्री बेलबासेले १० रनको योगदान दिइन् । हङकङले नेपालको खातामा १३ अतिरिक्त रन थपेको थियो ।

यसअघि नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी थिइन् । हङकङले १९ दशमलव एक ओभरमा सवै विकेटको क्षतिमा ८४ रन मा बनायो ।

हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झिन लायक रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका लागि सीता रानामगर एक्लैले पाँच विकेट लिइन् । उनले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेकी थिइन् । सीता प्लेयर अफ दी म्याच भइन् । यस्तै इन्दु बर्माले दुई तथा कविता कुँवर, पूजा महतो र रुविना क्षेत्री बेलबासेले एक/एक विकेट लिए ।