कलाकार मदनकृष्णकी नातिनी बनिन् अंग्रेजीका साहित्यकार
काठमाडौं, ६ भदौ । हास्य कलाकार मदनकृष्ण श्रेष्ठकी नातिनी ग्रीष्मा श्रेष्ठको कविता संग्रह प्रकाशित भएको छ । मंगलवार एक संक्षिप्त कार्यक्रमबिच ग्रीष्माले अंग्रेजीमा लेख्नुभएको कविता संग्रह ‘द पार्टिकुलर मार्श’ विमोचन गरियो ।
स्मरणीय छ, मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठ गायक एवं कलाकार हुन् भने छोरी सराना श्रेष्ठ गायिका एवं निर्देशक हुन् । छोरा यमन एवं बुहारी रिंकु श्रेष्ठकी छोरी ग्रीष्माले भने साहित्य रोज्नुभएको छ । ग्रीष्माले साहित्यमा आफ्नो नाम पनि बदलेर ‘दी ग्रीन रे’ राख्नुभएको छ । विमोचित पुस्तकमा पनि उहाँको नाम यही रहेको छ । ग्रीष्मा अमेरिकामा जन्मिएकी हुन् । बुबा यमन श्रेष्ठ आफ्नी विरामी आमाको हेरचाह गर्न अमेरिका छोडेर नेपाल आउँदा ग्रीष्मा पनि सँगै आएकी थिइन् ।
लेखिका ग्रीष्माका हजुरबुबा मदनकृष्ण श्रेष्ठको सभापतित्वमा भएको विमोचन समारोहको सञ्चालन बुबा यमन श्रेष्ठले गर्नुभएको थियो ।
पुस्तकको समीक्षा गर्दै साहित्यकार महेश पौडेलले मात्र १८ वर्षकी ग्रीष्माले लेखेका कविताहरू प्रकृतिसँग अत्यन्त नजिक रहेको र यो उमेरमा यतिको सिर्जना गर्न सक्नु ठूलो कुरा भएको बताउनुभयो ।
अर्का लेखक अनुराधाले ग्रीष्माका कविताहरूले अस्तित्ववादको प्रवद्र्धन गरेको विचार राख्नुभयो । ग्रीष्माले भने आपूmले प्रकृतिको संसारलाई मानिसको संसारसँग जोडेर कविताहरू लेखेको बताउनुभयो ।
कलाकार मदनकृष्ण श्रेष्ठले आफ्ना छोरा र छोरी दुवै कला क्षेत्रमा आवद्ध भएको र अहिले नातिनी साहित्यतिर लागेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘मेरो त सन्तानै कला क्षेत्रमा लागेछ । बडो खुशी लाग्यो ।’
कार्यक्रममा डा. जगदिशलाल वैद्य र साहित्यकार प्रकाश सायमिले पनि बोल्नुभएको थियो । पुस्तक पाठशाला स्कुलको ‘मदनकृष्ण नाट्यशाला’ मा विमोचन गरिएके थियो ।