कोशीका मुख्यमन्त्रीले असंवैधानिकरूपमा लिएको मत विरूद्ध एमालेद्वारा रिट दर्ता
काठमाडौं, ६ भदाै । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
पूर्वमुख्यमन्त्री एवम् नेकपा एमाले कोशीका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बुधबार वारेसमार्फत सर्वोच्च अदालतमा उत्प्रेषणयुक्त परमादेश तथा जो चाहिने उपयुक्त आदेश गरिपाउँ भनी रिट दायर गर्नुभएकाे हाे ।
रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइएको छ ।
मत बराबर पनि नभएको अवस्था र मत विभाजनको समय सकेर मत सच्चाउने क्रममा मतदान गरी पुन: सभाध्यक्षको कुर्सीमा फर्कनु संविधानको धारा १८६ र प्रदेशसभा नियमावलीविपरीतको कार्य भएको कार्कीको जिकिर छ ।
मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गरिरहेका मन्सुरीले मतदान गरेर बहुमत पुर्याएका थिए । यसअघि पनि सभामुखको हस्ताक्षरमा बहुमत पुर्याइएपछि एमाले सर्वोच्च गएको थियो । सर्वोच्चले थापाको नियुक्ति बदर गरेको थियो ।