आन्तरिक पर्यटक भित्र्याउने युवाहरूकाे प्रयास, भक्तपुरको न: पुखुमा पानी साइकल

भक्तपुर, १० भदाै । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्नै उद्देश्यले भक्तपुरको न: पुखुमा पानी साइकल सञ्चालनमा आएकाे छ ।

भक्तपुरको न: पुखुमा शनिवार देखि पाँच वटा पानी साइकल सञ्चालनमा आएकाे हाे । पानी साइकल टी एण्ड एन एडभेन्चर कम्पनीद्वारा भक्तपुर नगरपालिकाकाे सहकार्यमा सञ्चालन गरिएकाे सञ्चालक मध्यका एक महेन्द्र पराजुलीले बताउनुभयाे ।

साइकल चलाउन आएकाहरूलाई लाइफ ज्याकेटकाे पनि सुविधा रहेकाे छ साथै याे पुर्णरूपमा सुरक्षित रहेकाे पनि उहाँले बताउनुभयाे । याे साइकल चलाउन आएकाहरूलाई पाँच मिनेट साइकल सम्वन्धी जानकारी र चलाउने ज्ञान पनि दिने गरिएकाे उहाँले बताउनुभयाे ।

कम्पनीका अध्यक्ष सूर्यप्रसाद न्यौपानेका अनुसार पोखरीमाथि साइकल चलाउने अन्य देशहरूमा भएपनि नेपालमा भने याे पहिलो हाे । कम्पनीले अहिले चार सय रूपैयाँमा एक वटा पानी साइकल पन्द्र मिनेटका लागि उपलव्ध गराउँदै आएकाे छ । पानी साइकलमा एक पटकमा दुईजना यात्रा गर्न सकिन्छ याे हिसावमा एक जनाले दुई सय रूपैयामा पानी साइकल चढ्न सक्छन् । जोखिम न्युन रहेकाले पनि महिला, वृद्ध, वृद्धा सबैले यो चलाउन सक्ने न्यौपानेले बताउनुभयाे ।

टी एण्ड एन एडभेन्चरका सञ्चालक महेन्द्र पराजुलीका अनुसार नेपालमा नै याे पहिलो पटक सुरुवात गरिएको हाे । कम्पनीद्वारा सर्लाहीकाे भरत तालमा पनि पानी साइकल सञ्चालनमा ल्याउने जनाएकाे छ । भरत तालमा अर्काे हप्तासम्ममा पानी साइकल सञ्चालन आउने पराजुलीले बताउनुभयाे ।