ललिता निवास प्रकरणमा २ सय ९० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर

काठमाडाैं, १० भदाै । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयले २ सय ९० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी किर्ते र संगठित अपराध दुवैमा मुद्दा चलाउन राय दिएर प्रतिवेदन बुझाए पनि सरकारी वकिलको कार्यालयले सरकारी किर्ते कसुरअन्तर्गत उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालयले संगठित अपराधमा मुद्दा दिन पर्याप्त प्रमाण नपुगेकाले उनीहरूविरुद्ध सरकारी किर्तेमा मात्र मुद्दा दायर गरिएको जनाएकाे छ ।
जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवलाई प्रतिवादी बनाइएको छ ।
ललितानिवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ। उनीहरुमाथि किर्तेको अभियोग भने छैन, तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।