लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा, एसिया कप खेल्न पाकिस्तान जाने

काठमाडौं, १० भदाै । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा आइतबार पनि सुनुवाइ स्थगित भएको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’मा राखिएको हो ।

न्यायाधीश पण्डितको इजलासमा पाँचौं नम्बरमा सन्दीपविरुद्धको मुद्दा सुनुवाइको पेसी थियो । तर चार वटा मुद्दा सुनुवाइ भएपछि पाँचाैं मुद्दा हेर्न नभ्याइने सूचीमा परेकाे हाे ।

सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको टुंगो लगाउन आदेश दिए पनि जिल्ला अदालत काठमाडौंमा लगातार सुनुवाइ हुन सकेको छैन ।

यसैबीच सन्दीप एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तान जाने भएका छन् । अदालतमा सुनवाइ स्थगित भएसँगै उनी पाकिस्तान जाने भएका हुन् । उनी आज राति १ बजे पाकिस्तान प्रस्थान गर्ने बताइएको छ ।

सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो।