कालीगण्डकीको कटानले दोबा जोड्ने बेलिब्रिज जोखिममा, स्थानीयलाई सास्ती
म्याग्दी, ९ कात्तिक । कालीगण्डकी नदीको कटानले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र १ को सिमानामा रहेको भीरकाटे बेलिब्रिज जोखिममा परेपछि दोबावासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। पुलको भीरकाटेतर्फको पहुँचमार्ग भत्किएपछि सवारीसाधन आवतजावतमा जोखिम बढेको हो।
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत भीरकाटे हुँदै दोबा गाउँलाई यातायात सञ्जालसँग जोड्ने उक्त पुलको पहुँचमार्ग नदी कटानका कारण क्षतिग्रस्त भएको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताइन्।
करिब दुई दशकअघि बेनी–जोमसोम सडकको मार्ग खोल्ने क्रममा दोबावासीले कालीगण्डकी नदीमा पुल निर्माण गर्न माग गरेपछि बेलिब्रिज निर्माण गरिएको थियो। सडक विभागअन्तर्गतको पुल भएकाले यसको मर्मतसम्भार स्थानीय तहभन्दा सडक विभागले नै गर्नुपर्ने उपाध्यक्ष पुनको भनाइ छ। पुलमा भएको क्षतिबारे गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराइसकेको उनले बताइन्।
हाल पुल एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। नदी कटान नरोकिए जुनसुकै बेला पहुँचमार्ग पूर्ण रूपमा भत्किन सक्ने जोखिम रहेको स्थानीय अमृत पुनले बताए। दोबा जोड्ने एकमात्र बेलिब्रिज जोखिममा परेकाले सम्बन्धित निकायले तत्काल मर्मतसम्भार गर्नुपर्ने उनको माग छ।
दोबा गाउँमा करिब ३०० घरपरिवार बसोबास गर्छन्। पुलको पहुँचमार्ग थप क्षतिग्रस्त भए स्थानीयको आवतजावत र यातायात सेवा प्रभावित हुने जोखिम छ।
