भक्तपुरका नेवार समुदायले आज गुँपुन्ही मनाउँदै

भक्तपुर, १३ भदौ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज भक्तपुरका नेवार समुदायले गुन्हुँपुन्ही पर्व मनाउँदैछन् ।

पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन भदौ १४ गते परेकाले अन्योल उत्पन्न भएको जनाउँदै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीसँगको छलफलपछि भदौ १३ गते जनैपूर्णिमा र १४ गते गाईजात्रा मनाउने निर्णय गरेको थियो।

नेवार समुदायले गुन्हुँपुन्ही पर्वमा नौ थरि गेडागुडीको मिश्रण भएको परिकार क्वाँटी खाने चलन छ । त्यसैले नेवार समुदायले यस दिनलाई क्वाटी पुन्ही पनि भन्ने गर्दछन् । नेवार समुदायमा गुन्हुँपुन्ही र गाईजात्राका छुट्टाछुट्टै धार्मिक विधिअनुसार कार्य गर्नुपर्दछ ।

गुन्हुँपुन्हीमा क्वाटी खानेमात्र नभई धानबारी, कुवा, इनार, धारालगायत खोलामा गएर भ्यागुतालाई पुज्ने र खाना खुवाउने परम्परा छ । साथै नेवार समुदायले यस दिन पञ्चतत्व अर्थात् होम गर्दा हाल्ने तत्वसहितको डोरो बाँध्ने प्रचलन रहेको छ ।

यसकारण एकै दिन दुई पर्व मनाउन व्यवहारिक कठिनाइ उत्पन्न भएकाले नगरपालिकाले सरोकारवालासँग आवश्यक छलफल गरी आज गुन्हुँपुन्ही मनाउने निर्णय गरेको थियो । सोहीअनुसार मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले पनि आजै गुन्हुँपुन्ही मनाउने निर्णय गरी नगरपालिका मातहतका कार्यालयमा सार्वजनिक बिदासमेत दिएको छ ।

नेवार समुदायमा गुन्हुँपुन्हीमा पञ्चतत्वसहितको डोरो बाँध्दा भूतप्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ । विषेशतः क्षेत्री बाहुनले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भए पनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद् ओम धौभडेलले बताउनुभयो । नेवार समुदायमा डोरो बाँध्दा बलि राजाबाट रक्षा गरोस् भन्ने श्लोक वाचन गरी महिलाको बायाँ र पुरुषको दायाँ हातमा डोरो बाँध्ने गरिन्छ ।

नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा पर्ने भएकाले नेवारीमा यसको नाम गुन्हुँपुन्ही रहन गएको र नवौँ महिना भएकाले नेवार समुदायले कम्तीमा नौ थरिका गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो ।

यही प्रचलन नेवार समुदायबाट विस्तार भएर अन्य समुदायमा आजको दिन क्वाटी खाने प्रचलन चलेको हो । क्वाटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत नौ थरि गेडागुडीको मिश्रणबाट तयार गरिन्छ ।

रोपाइँ र धानबाली गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनैपूर्णिमामा क्वाटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

खाद्यन्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसमअनुसारको चाडपर्व मनाउने र सोहीअनुसारका खानेकुरा खाने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *