केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा महोत्सव

जुम्ला, १३ भदौ । जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ ।

सो तीर्थस्थललाई जिल्लाबाहिर परिचित गराई यसको आध्यात्मिक र सांस्कृतिक महत्वका बारेमा जानकारी दिन सो गाउँपालिकाले महोत्सवको आयोजना गरेको हाे ।

आन्तरिक तथा बाह्र पर्यटन प्रवद्र्धन गर्नाका साथै केदारनाथको आवश्यक प्रचार गर्न यही भदौ १० देखि १२ गतेसम्म केदारनाथ महोत्सवको आयोजना गरिएको थियो । गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सो महोत्सवमा जुम्लाका मात्र नभएर धेरै जिल्लाका नागरिक आएकाले यस स्थानको प्रचार भएको जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्डको सहआयोजना र गाउँपालिकाको मुख्य आयोजनामा सञ्चालन भएको महोत्सवमा कर्णाली प्रदेश सरकारका मन्त्रीहरुको पनि सहभागिता रहेको थियो । यसका साथै जिल्लामा रहेका सबै सरकारी कार्यालयका साथै अन्य व्यक्तित्वहरुले पनि सो महोत्सवको अवलोकन गरेकाे अध्यक्ष धितालले जानकारी दिनुभयो ।

उक्त महोत्सवको आयोजना गरेर स्थानीय कला, संस्कृति, वेशभूषाको जगेर्नामा टेवा पुगेको धारणा उहाँको छ । महोत्सवमा जुम्लामै उत्पादित स्याउका स्टलहरु, सिमी, राडीपाखी, पुर्खाहरुले प्रयोग गर्ने विभिन्न काष्ठकलाका सामग्री राखिएको थियो ।

यी सामग्रीहरु महोत्सवका मुख्य आकर्षण रहेका स्थानीयवासी लिला रावतको भनाइ छ । उक्त महोत्सवसम्म पुग्न सिञ्जा गाउँपालिकाले साङ्टाखोलामा पक्की पुल निर्माणका साथै रुद्रप्रयाग शिवमन्दिर पनि निर्माण गरेको छ । काफल दिवस, खस दिवस, खस पात्रो सार्वजनिक र स्याउ दिवसका पहिचान गराउनाका साथै महोत्सवमा इन्द्रेणी समूहको सांस्कृतिक प्रस्तुति पनि रहेको थियो ।

सो धार्मिक महोत्सवमा यहाँका झण्डै दुई सयभन्दा बढी धामीझाँक्रीको प्रस्तुति पनि थियो । यहाँ विभिन्न जिल्लाबाट आएका भक्तजनको घुइँचो लागेको थियो । मेलाका लागि गाउँपालिकाको कुनै रकम खर्च नभएको सिञ्जा गाउँपालिका अध्यक्ष धितालले जानकारी दिनुभयो । महोत्सवमा १० हजार दर्शकले अवलोकन गरेका र स्थानीय परिकारका ३२ वटा स्टल राखिएको सिञ्जा गाउँपालिका प्रवक्ता तीर्थ वडले बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड, कृषि विकास कार्यालय जुम्ला र प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा महोत्सव सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताउनुभयो । पर्यटकीय गन्तव्य सिञ्जाको केदारनाथ क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण भएर पनि उचित प्रचारप्रसार र विकासको अभावमा ओझेलमा परेको स्थानीयवासी गोरे रोकायाले जानकारी दिनुभयो ।