त्रिवि र विद्यार्थी संगठनबीच सहमति पछि इन्जिनियरिङ शिक्षा बढाएको शुल्क फिर्ता

काठमाडौं, १३ भदाै । केही सातादेखि आन्दोलनरत विद्यार्थी संगठनहरु र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरबीच पाँचबुँदे सहमति भएकाे छ । सहमतिपछि इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्क फिर्ता लिने निर्णय भएकाे हाे ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटासहितको अधिकारीहरूले विद्यार्थी संगठनसँग सहमतिपछि शुल्क वृद्धिको निर्णय फिर्ता भएको छ । विद्यार्थी संगठनहरूले समेत आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिएका छन् ।
सहमति अनुसार विद्यार्थीका प्रतिनिधिसहित समिति गठन गर्ने र उक्त समितिले दिएको प्रतिवेदनको आधारमा अघि बढ्नेछ । त्यस्तै उक्त शुल्क लागू गर्न सहमत भइसकेको अवस्थामा हाल स्थगित गरिएका प्रवेश परीक्षा लगायत सबै कार्यक्रमहरु सुचारु गर्ने सहमति समेत भएको छ ।
संस्थान अन्तर्गतका अन्य परीक्षाहरु यथावत् संचालनमा कुनै किसिमको बाधा अवरोध नगर्ने र आमरण अनशन लगायतका सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता गर्ने सहमति भएको छ ।