बाजुरामा चट्याङबाट दिदीको मृत्यु, बहिनी घाइते

बाजुरा, १७ भदौ । बाजुरामा चट्याङ लागेर दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छिन् ।

गएराति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।

चट्याङ लागेर मृतक रावलकी बहिनी नौ वर्षीया रोजिता रावल घाइते भएकी छिन् । कोर्ध गाउँको थला लेकमा दुवैजना राति सुतेको अवस्थामा चट्याङ लागेको हाे ।

प्रतिक्षाको घटनास्थलमै मृत्यु भएको हाे। चट्याङ लागेर एउटा भैँंसी, एउटा पाडो र एउटा गोरुसमेत मरेको छ । घाइते रोजिताको मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।