हेलो सरकार पुन: २४सै घण्टा सञ्चालन
काठमाडौं, १७ भदौ । विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई दैनिक तीन सत्रमा विस्तार गरेर पुन: २४सै घण्टा सञ्चालन प्रक्रियाको शुभारम्भ भएको छ ।
सिंहदरबारमा आज प्रधानमन्त्रीद्वारा हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ भएको हो ।
कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृत, हेलो सरकार कक्षमा कार्यरत कर्मचारी सहभागी हुनुहुन्थ्यो ।
यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकामा विस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेलको नेटवर्क बाटसमेत गुनासो राख्न सकिनेछ । गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एपलगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ । हेलो सरकारको डेस्कले प्राप्त गुनासो तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ ।
हेलो सरकार २४सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका तीन जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ ।
हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन हुने जनाइएकाे छ ।
गुनासोहरू सम्बोधनका निम्ति ‘र्यापिड रेस्पोन्स टिम’समेत गठन गरी कायाएन्वयनमा ल्याइएको मुख्यसचिव डा वैकुण्ठ अर्यालले जानकारी दिनुभयो । उक्त टिमले सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए वा नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ ।
हेलो सरकार सञ्चालनका लागि विश्वविद्यालयसँग सम्झौता गरी इन्टर्नमा विद्यार्थी लिनसक्ने व्यवस्थासमेत गरिएको छ । नेपाल टेलिकम र एनसेलबाट गुनासो, जिज्ञासा वा सुझाव दिने र कल रेकर्डिङ प्रणालीको विकास गरिएको छ ।
हेलो सरकारलाई केन्द्रीयस्तरमा मात्र सीमित नगरी प्रदेश र स्थानीय तहमा समेत यसको सञ्जाल विस्तार गर्नुपर्ने आवश्यकता छ । यस संयन्त्रलाई सरकारी नीति निर्माणमा नागरिक पृष्ठपोषण हुने प्रणालीका रूपमा विकास गर्ने तयारी गरिएको जनाइएको छ ।
