सरकारी कार्यालयमै अनैतिक हर्कत, पालिका प्रमुख भन्नुहुन्छ– कारबाही प्रक्रिया अघि बढ्छ
काठमाडौं, २० भदौ । इलामको माईजोगमाई गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमै अनैतिक हर्कत गरेको भिडियो सार्वजनिक भएपछि अहिले त्यसले निकै चर्चा पाएको छ । सीसीटीभी फुटेजमा प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले एक महिलासँग अनैतिक हर्कत गरेको प्रष्ट देखिन्छ । अर्की महिलाले पनि राईलाई त्यस्तो हर्कतमा सहमति दिएको प्रष्ट देखिन्छ ।
यस्तो हर्कत सार्वजनिक भएपछि त्यो घटनाबारे बुझ्न मैत्रिन्युजले माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशकुमार थेबेसँग सम्पर्क गर्दा उहाँ भाइरल रुखा–खोकीका कारण उपचारका लागि इलाम अस्पताल भर्ना हुनुभएको रहेछ । उहाँले अस्पतालबाटै आफुले पनि उक्त भिडियो सामाजिक सञ्जालहरुमा हेरेपछि थाहा पाएको जानकारी दिनुभयो । त्यो भिडियो तपाईंकै पालिकाका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीको भन्ने छ । त्यो भिडियो सत्य हो नि ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘भिडियोमा सत्य देखिन्छ । असत्य रहेछ भने उहाँहरुले प्रमाण पुर्याउनु होला नि ?’
मैत्रिन्युजसँग खुलेर कुराकानी गर्दै अध्यक्ष थेबेले अब तत्कालै कार्यपालिकाको बैठक राखेर उहाँको कारबाहीका लागि सिफारिस गर्ने जानकारी दिनुभयो । उहाँले उक्त घटना अलिक अघिकै हुनसक्ने जानकारी दिनुभयो । ‘आर्थिक वर्षको अन्त्यमा अलिक बढी नै कामको चाप हुन्थ्यो । त्यतिबेला छुट्टिका दिन पनि बसेर काम गर्नुपर्ने अवस्था थियो,’ उहाँले भन्नुभयो, ‘अब बारचाँहि कुनबार थियो । उहाँहरुलाई नै जानकारी होला ।’
उहाँले त्यो कति गतेको भिडियो हो भन्ने बारेमा पनि आफूलाई जानकारी नभएको बताउनुभयो । ‘सबै कुरा त हामीलाई पनि थाहा छैन । एकैचोटी भिडियो बाहिर आएपछि मात्रै थाहा भयो,’ उहाँले भन्नुभयो, ‘आज विदा छ, भोलि पनि विदा छ । हामी तत्कालै कार्यपालिकाको बैठक राखेर कारबाहीका लागि मन्त्रालयमा सिफारिस गर्छौ । हामीले गर्ने यहि हो ।’
उहाँले विदाकै दिन भए पनि बैठक बसेर प्रक्रिया अघि बढाउन सकिने भए पनि आफू विरामी भएर अस्पताल आएकाले सकेसम्म छिटो प्रक्रिया अघि बढाउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।
उहाँले प्रमुख प्रशासकीय अधिकृत साउन अन्तिमतिर नै सरुवा भएर गएको पनि उहाँले जानकारी दिनुभयो । ‘हामीले उहाँको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको भन्ने सुनेको हो,’ उहाँले भन्नुभयो, ‘त्यसपछि पनि अन्य पालिकातिर भयो भन्ने सुनेको हो । धेरै जानकारी छैन । तर, हामी हाम्रो पालिकाको घटना भएकाले उहाँलाई बैठक बसेर कारबाहीका लागि सिफारिस गर्छौ ।