कृष्ण जन्माष्टमीमा काठमाडौँको सामाखुशीमा ‘मड्का फुटाउने’ प्रतियोगिता

काठमाडौं, २० भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर काठमाडौँको सामाखुशीमा ‘मड्का फुटाउने’प्रतियोगिता गरिएको छ ।

सामाखुशी युवा क्लबको आयोजनामा हरेक वर्ष झैँ यसवर्ष पनि जन्माष्टमीको अवसरमा आज काठमाडौँ महानगरपालिका–२६ कपुरधारास्थित चिल्ड्रेन पार्कमा प्रतियोगिता आयोजना गरिएको हो ।

विसं २०५६ देखि हरेक वर्ष मनाउँदै आइएको उक्त प्रतियोगितामा निलो रिबन लगाउने टोली प्रथम भएको क्लबका अध्यक्ष दीपेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा रातो र निलो रिबन लगाउने दुई समूहको सहभागिता थियो । “पार्क नजिकै सडकको माथि डोरीमा माटोको मड्कामा दही राखेर झुण्ड्याइने र प्रतियोगीले उक्त मड्का फुटाउने चलन रहँदै आएको छ”, केसीले भन्नुभयो । उहाँका अनुसार मड्का निकै माथि डोरोमा झुण्ड्याइने भएकाले मानिसमाथि मानिस चढेर फुटाउने गरिन्छ ।

यसवर्ष ११ पटकको प्रयासपछि उक्त मड्का फुटाइएको हो । प्रतियोगिताका विजेता टोलीले रू २० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।