कञ्चनपुरको भीमदत्तमा तरकारी खेतीबाट रु २५ लाख बढी आम्दानी

कञ्चनपुर, २५ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिक तरकारी खेती गरेर वार्षिकरुपमा रु २५ लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।

डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कट्ठा जग्गामा खेती गर्दै आउनुभएको हो । दश कठ्ठा मात्रै आफ्नो जग्गा भएका उहाँले दुई बिघा तरकारी खेतीका लागि भाडामा लिएको जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक एक सय टन बढी तरकारी उत्पादन हुने गरेको छ ।

मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएको भन्दै खड्काले अहिले खेतमा काउली, बन्दा, गोलभेडा, सुर्खानी, भान्टा, मुला, सिमला मिर्च, हरियो र धनियाँ लगाइएको बताउनुभयो । “केही महिनाअघि मात्रै हरियो धनियाँ र सागपात मात्रै रु दुई लाख बढीको बिक्री भएको छ”, उहाँले भन्नुभयो, “वर्षमा रु १० लाख बढीको काउली मात्रै बिक्री हुने गरेको छ ।” उत्पादित तरकारी महेन्द्रनगर बजार पुर्‍याएर बेच्दै आएको उहाँले बताउनुभयो ।

खड्का वडाका एक्ला व्यावसायिक तरकारीखेती गर्ने किसानका रुपमा रहेका छन् । तरकारी खेतीसम्बन्धी तालिम नलिएको जनाउँदै खड्काले अरुका बारीमा तरकारीका लागि खेत तयार गर्ने र लगाउने गरेर सिकेको बताउनुभयो ।“कुनै निकायबाट तरकारी खेतीसम्बन्धी सीप सिक्ने अवसर पाइएन”, खड्काले भन्नुभयो, “गर्दै जाँदा सिकिँदोरहेछ । तालिम नलिए पनि तरकारी खेतीमा अरुभन्दा कम छैन । यसैबाट जीविकोपार्जन भइरहेको छ ।”

किसान परियोजना–२ बाट एउटा सिँचाइका लागि बोरिङ र सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालयबाट ५० प्रतिशत अनुदानमा एउटा खेत जोत्ने पावर टिलर सहयोग पाएको उहाँले जानकारी दिनुभयो ।

तरकारी खेतीबाट आएको आम्दानीले १२ जनाको संयुक्त परिवारको जीविकोपार्जन भएको जनाउँदै खड्काले पक्की घरसमेत बनाएको बताउनुभयो । “छोरा, बुहारी, म र श्रीमती बिहानदेखि साँझसम्म तरकारी बारीमा काम गरिरहेको हुन्छौँ”, उहाँले भन्नुभयो, “खेतीमा सिँचाइ गर्ने, गोडमेल गर्ने, तरकारी टिप्ने र बजारसम्म लगेर बिक्री गर्ने कार्यमा व्यस्ता हुन्छौँ ।”

“सुरुआतमा एक कट्ठा जग्गामा तरकारीखेती गर्‍यौँ । रु २५ हजार आम्दानी भयो, धान, गहुँभन्दा निकै आम्दानी हुने भएपछि तरकारी खेतीको क्षेत्रफल बढाउँदै लग्यौँ”, खड्काले भन्नुभयो, “आम्दानी बढ्दै गयो, घर खर्च चलाउन लिइएको ऋण तिर्न भ्यायौँ ।”