मङ्गलेखानीको सिङ्गो गाउँ आलु र सिमीखेतीमा

म्याग्दी, ३१ भदौ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायीक सिमीखेती गर्नुभएको छ ।
परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उहाँले बताउनुभयो । उहाँले करिब १५ रोपनी बारीमा लगाएको आलु भित्र्याइसकेपछि सिमी लगाउनुभएको छ ।
छन्त्यालजस्तै यहाँ बसोबास रहेका २१ घरधुरीले नै परम्परागतरूपमा हुने कोदो, मकै, जौँ, फापरलगायतका खाद्यबालीलाई छाडेर खायन आलु र घ्यूसिमीको व्यावसायिक खेती सुरु गरेका हुन् । चिसो हावापानी भएकाले खाद्यबाली पाक्नसमेत समय लाग्ने र नगद आम्दानी नहुने भएपछि स्थानीयवासीले आयआर्जनका लागि व्यावसायिक आलु र सिमीखेती विस्तार गरेको बताउँछन् ।
जिल्ला कृषि ज्ञान केन्द्र र रघुगङ्गा गाउँपालिकाले समेत कुइनेमङ्गलेलाई आलु र सिमी पकेट क्षेत्र घोषणा गरेका छन् । यस गाउँको करिब एक हजार दुई सय रोपनीमा अहिले सिमीखेती गरिएको श्रीकृष्ण कृषि तथा पशुपालन कृषक समूहका सचिव बदेवी छन्त्यालले जानकारी दिनुभयो ।
आलुखेती गरेको सबै बारीमा सिमी लगाइएको छ । आलु नखन्दै सिमी लगाउने र आलु फलिसकेपछि आलु झिक्ने र सिमी गोड्ने काम एकैपटक गर्ने गरी आलु र सिमीलाई व्यावसायिकरूपमा विस्तार गरिएको उहाँले बताउनुभयो ।
आलु खनेर घरमा भित्र्याइसकेर बिक्री गर्न थालेका स्थानीयको बारीमा सिमी फल्न थालिसकेको छ । बारीभरि थाक्रोमा सिमी लहलह भएका छन् । सिमीको बोटमा कोसा लाग्न थालिसकेको छ । रैथाने खाद्य बाली पाक्न पाँचदेखि छ महिना लाग्ने र त्यसले आयआर्जन नहुने अवस्थामा गाउँमा उत्पादन हुने आलु र सिमी बिक्री गरेर आम्दानी गर्न थालेपछि स्थानीयवासीको आयआर्जनमा सघाउ पुर्याएको छ ।
तीन महिनामै बाली पाक्ने र बजारीकरण गरेर नगद आम्दानी गर्न सकिने भएकाले आलु र सिमीखेतीले व्यावसायिकता पाएको कृषक समूहका अध्यक्ष बिना छन्त्यालले बताउनुभयो । सदरमुकाम बेनीबाट गाउँपालिकाको केन्द्र मौवाफाँट हुँदै मङ्गलेखानीसम्म सडकको पहुँच पुगेकाले यहाँ उत्पादन हुने आलु र सिमी बजारीकरणमा सघाउ पुगेको अध्यक्ष छन्त्यालले बताउनुभयो ।
यो गाउँमा आलुबाट मात्रै वार्षिकरूपमा रु ६० लाख बढी नगद भित्रने गर्छ । यो वर्ष विगत वर्षको तुलनामा आलुको उत्पादन बढेको छ । बजारमा माग नबढेका कारण अझै पर्याप्त मात्रामा आलु निर्यात हुन नसकेको स्थानीय कृषक निश्मा छन्त्यालले बताउनुभयो ।
यस गाउँका हरेक घरले तीनदेखि पाँच टन आलु उत्पादन गर्छन् । आलुखेती गरेको अधिकांश जमिनमा अहिले सिमीखेती गरिएको छ ।