नेम्वाङको स्मृतिमा भोलि ‘सुवास र संविधान’ प्रवचन, मुख्यालयमा दुई पूर्वप्रधानमन्त्रीले सम्वोधन गर्ने

काठमाडौँ, १ असोज । संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी गरिनेभएको छ । ऐतिहासिक संविधान सभाबाट संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका स्व। नेम्वाङको योगदानलाई केन्द्रमा राखी ‘सुवास र संविधान’ विषयमा प्रवचन कार्यक्रम आयोजना गरिएको हो ।

नेकपा (एमाले) केन्द्रीय कार्यालय, तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा दिउँसो १२ः३० मा हुने प्रवचन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ ।
अतिथि वक्ताका रूपमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रकी नेतृ तथा पूर्व सभामुख ओनसरी घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ, संविधानविद् नीलाम्वर आचार्य लगायत आमन्त्रित हुनुहुन्छ ।

अन्य छ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्षहरू प्रमुख वक्ताका रूपमा जानुभएको छ । सो अनुसार, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेश प्रदेशको जनकपुर, कोशी प्रदेशको इलाममा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *