सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, ७ असोज । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।
मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेकाले मुद्दाकाे सुनुवाइ हुन लागेकाे हाे ।
गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । उक्त मुद्दाको थुनछेक बहसपछि १८ कात्तिक २०७९ मा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
बयानका क्रममा सन्दीपले आफूमाथिको बलात्कारको आरोप अस्वीकार गरेका थिए भने पीडितले घटना भएको दिन १८ वर्ष उमेर पूरा भइसकेको भनेर प्रमाणको रुपमा केही कागजात पेस गरेका थिए ।
त्यसपछि थुनछेक आदेशसँगै अदालतले सम्बन्धित स्थानीय तहबाट पीडितको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति र नागरिकताको प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमको प्रतिलिपि झिकाउन आदेश दिएको थियो ।
तर यसबीचमा अदालतमा फरक-फरक जन्ममिति भएका कागजहरु आइपुगेका थिए । पछि सन्दीपले आफूले बयानका क्रममा पीडितको जन्मदर्ता भनी पेस गरेको कागजात एक शुभचिन्तकले दिएको र आफूले उनलाई नचिन्ने बताएका थिए ।
न्यायाधीश घिमिरेको इजलासले गरेको आदेश अनुसार जिल्ला प्रशासन कार्यालयले पठाएको विवरणमा अभियोगपत्रमा पेस भएको र पीडितले भनेको अनुसारकै जन्ममिति १८ जेठ २०६२ नै उल्लेख छ ।
त्यसपछि सन्दीप पक्षले जिल्ला अदालतमा पेश गरेको पिडित भनिएकी अभिभावकको बसाइसराइको कागजपत्रबाट उनी १८ वर्ष उमेर पूरा भएको पुष्टि हुन सकेको थिएन ।