सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला आज पनि स्थगित
काठमाडौं, ७ असाेज । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज तोकिएको पेसी पनि स्थगित भएको छ । फैसला चरणमा पुगिसकेको मुद्दा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण आज पनि पेशी नचढी स्थगित भएको हो।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालका अनुसार न्यायाधीशहरू नभएका कारण गोला प्रथाबाट इजलास तोकिँदा सन्दीप विरूद्धको मुद्दा आज उपस्थित न्यायाधीशहरू कसैकोमा पनि नपरेकाले मुद्दाको सुनुवाइ स्थगित भएको हाे ।
अदालतका ३० फाँटमध्ये आज १५ वटा फाँट मात्रै इजलास बस्नेछ। सन्दीपको मुद्दामा पेसी तोकिएको आज २९औं पटक थियो । मुद्दाको फैसला पेसी १७औं पटक स्थगित भएको छ । मुद्दा फैसला चरणमा प्रवेश गरेको सात महिना भइसकेको छ ।
पहिलो फैसला पेसी गत माघ ९ गते नारायणप्रसाद दाहालको इजलासमा परेको थियो । त्यसपछि माघकै २३ गते चन्द्रप्रकाश तिवारीको इजलासमा तोकिएको पेसी जिल्ला सरकारी वकिल कार्यालयले नै स्थगित गरायो ।
त्यसयता, यो मुद्दा न्यायाधीशहरू क्रमशः फणिन्द्रप्रसाद पराजुली, दीपक ढकाल, माधवप्रसाद घिमिरे, केशव प्रसाद घिमिरे, शंकरराज बराल, नारायणप्रसाद दाहाल, दीपक ढकाल, फणिन्द्रप्साद पराजुली, शंकरबहादुर राई, राजुकुमार खतिवडा, प्रकाशप्रसाद पण्डित, शकुन्तला कार्कीको इजलासमा परेपनि फैसला हुन सकेकाे छैन ।