१९औँ एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपालले मङ्गोलियासंग खेल्दै

काठमाडाैं, १० असाेज । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले आज मङ्गोलियासंग खेल्दैछ ।

पुरुष क्रिकेट प्रतियोगिताकाे पहिलो खेलमा नेपालले मंगोलियासँग प्रतिस्पर्धा गर्न लागेको हो । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा उक्त प्रतिस्पर्धा हुँदैछ ।

नेपाल र मङगोलियाबीचको खेल नेपाली समयअनुसार अहिले बिहान ६ : ४५ मा सुरु हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सन् २०२१ मा मात्र मङगोलियालाई एसोसिएट टोलीको मान्यता दिएको हो ।

टि २० आई मान्यता प्राप्त उक्त खेलमा मंगोलियाले पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससित खेल्नेछ ।

समूह ए मा शीर्ष स्थानमा रहन सके नेपाल क्वाटरफाइनलमा प्रवेश गर्ने छ । क्वाटरफाइनलमा नेपालले भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तानमध्ये एउटा टोलीसित खेल्ने छ ।