कञ्चनपुरमा केरा खेतीबाट मनग्य आम्दानी

कञ्चनपुर, १२ असोज । वैदेशिक रोजागरीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका मोहन राना केरा खेती गरी गतिलो आम्दानी लिन थालेका छन् ।

तीन वर्ष मलेसियामा वैदेशिक रोजगारीमा गएका राना घर फर्केर आधुनिक तरिकाले व्यावसायिकरुपमा केरा खेती गर्न थालेका हुन् ।

पाँच वर्षदेखि उहाँले केरा खेती गर्दै आएका छन् । उहाँले वार्षिकरुपमा रु २५ लाखदेखि रु ३० लाखसम्मको केरा बिक्री गर्दै आएका छन् । केरा बिक्रीबाट आएको रकममध्ये रु १० देखि रु १६ लाखसम्म आम्दानी हुने गरेको छ ।

केरा खेती गोडमेल गर्ने मजदुर, रासायनिक मल, सिँचाइमा गरी बाँकी रकम खर्च हुने गरेको छ । केरा खेतीका लागि छ जनालाई वर्षभरिनै रोजगारी दिएको राना बताउनु हुन्छ । छ बिघा जग्गामा रानाले जि नौ उन्नत जातको केरा खेती गरेका छन् । छ बिघा जग्गामध्ये डेढ बिघा जग्गा मात्रै रानाको आफ्नो स्वामित्वको हो ।

व्यापारीले बारीमा आएर केरा खदिर गरी लैजाने गरेका छन् । वर्षमा उहाँले दश ट्रक बढी केरा बिक्री गर्दै आउनुभएको छ । केरा थोकमा प्रतिदर्जन रु ४५ मा बिक्री हुने गरेको छ । चाड पर्वमा माग बढ्दा केरा प्रतिदर्जन रु ५० देखि रु ६० सम्म पुग्ने गर्दछ ।

कर्जा लिएर वैदेशिक रोजागरीमा गएको रकम माग्न साहुले निकै दबाब दिन थालेपछि कर्जाको रकम तिर्ने कुनै उपाय नभएपछि स्वामित्वको जग्गामा रानाले केरा खेती गर्न थाल्नुभएकाे हाे ।

पहिलो वर्षको केरा खेतीको कमाइले कर्जा तिर्न भ्याइएपछि स्वामित्वको डेढ बिघा जग्गामा केरा खेतीलाई विस्तार गरेपछि उहाँले दोस्रो वर्ष रु १५ लाख बढीको केरा बिक्री गर्न भ्याए । “केरा खेतीबाट गतिलो आम्दानी हात लाग्न थालेपछि अरुको जग्गा लिजमा लिन थाले”, रानाले भन्नुभयो, “त्यसपछि आम्दानी बढ्दै गयो, आम्दानी हुन थालेपछि घरका सबै जनाले केरा खेतीमा सघाउ पुर्याउन थालेका छन् ।”

केरा खेतीमा लागेका किसान रानालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रु छ लाख अनुदान रकमसमेत उपलब्ध गराइएको छ । मुर्रा भैँसीको फार्म खोल्ने र केरा खेतीलाई अझै विस्तार गर्ने भावी योजना रानाले बनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *