पर्वतको तमादीखोलाबाट बगाएकाे जीप मोदी किनारमा भेटियो, जीपसँगै बेपत्ता भएका एक जनाको शव फेला

कास्की, १४ असाेज । पर्वतको कुश्मा नगरपालिका तमादीखोलाबाट हिजाे बेलुकी बाढीमा बगेर बेपत्ता भएको जीप ३०० मिटर तल मोदी किनारमा भेटिएकाे छ । जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव पनि भेटिएको हाे ।

शनिबार साँझ बागलुङबाट पोखराका लागि छुटेको ग१ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता भएकाे थियो । जीपसँगै बेपत्ता भएका तीन जनामध्ये दुई जना अझै बेपत्ता छन् ।

पर्वतका प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालका अनुसार एक जनाको शव फेला परेको छ । शव तिलोत्तमा नगरपालिका वडानम्बर ९ निवासी गोपालप्रसाद बस्याल रहेको भुसालले बताउनुभयाे । बेपत्ता २ जनाको बिहानैदेखि खोजी कार्य भइरहेको छ ।

गाडी चालकले भने भागेर बाँच्न सफल भएका छन् । गाडीलाई रोकेर यात्रु झार्ने तयारी गर्दा गर्दै माथिबाट एक्कासी रुख, ढुंगामुडा र माटोसहित आएको बाढीले जीप बगाएर बेपत्ता पारेको थियो ।

बिहान जीप ३०० मिटर तल टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको र तालिम प्राप्त गोताखोर मगाएर बेपत्ताको खोजी भइरहेको डिएसपी भुसालले जानकारी दिए ।