सिरहामा बस दुर्घटना, दुई जनाको मृत्यु २५ घाइते

सिरहा, १४ असोज । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन् ।

सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको हाे ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार दुई जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका-२ का ४० वर्षीय राजकुमार सदा र जनकपुरधाम उपमहानगरपालिका-२०का ५२ वर्षीय अनिलकुमार झा रहेकाे मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयाे ।

बसमा सवार २५ जना यात्रुहरू घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

घाइते भएका उनीहरूको गोलबजार स्थित अस्पतालमा उपचार भइरहेको छ साथै दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।