अमरसिंह चौरबाट पृथ्वीको उद्घोषः अबको १० वर्ष केपी ओलीको विकल्प छैन
काठमाडौं, १५ असोज । नेकपा (एमाले) भित्र आगामी महाधिवेशनका लागि फरक–फरक गुट निर्माणको हल्ला चलिरहेका बेला एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अबको १० वर्ष केपी ओलीको विकल्प नभएको बताउनु भएको छ । केहीले भावी अध्यक्षको लाइनमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबिच गुट सुरु भएको भन्दै हल्ला चलाइरहेका बेला गुरुङको यस्तो भनाई आएको हो ।
कतिपयले त निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा समेच भावि अध्यक्षको चर्चा चलाउने गरेका छन् । एमाले भित्र प्रष्ट वत्ताको छवि बनाउनु भएको गुरुङले पोखराको अमरसिंह चौरमा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशन उद्घाटनका क्रममा यस्तो बताउनु भएको हो । ‘म यहीँबाट तपाईंहरुलाई भन्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘अबको १० वर्ष केपी ओलीको विकल्प छैन । पार्टीलाई शक्तिशाली बनाउन केपी ओलिको नेतृत्व आवश्यक छ ।’
कार्यक्रमलाई सम्वोधन गर्दै गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरेको आरोप समेत लगाउनुभयो । गुरुङले सरकारले भ्रष्टाचार विरोेधी अभियानको नाममा नौटंकी गरिरहेको टिप्पणी पनि गर्नुभयो ।
उहाँले ललिता निवास प्रकरणको फाइल फेरि खुल्ने दाबी समेत गर्नुभयो । प्रचण्डले सरकार टिकाउने नाममा माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेलाको निर्णयमा कर्मचारीलाई कारबाही गरेर सबै निर्णय गर्ने प्रधानमन्त्रीलाई चोख्याएको आरोप लगाउनुभयो ।
‘लतिला निवास प्रकरणमा छानबिनको ढोका बन्द भएको होइन। यो जनताले फेरि उठाउँछन् । बाबुराम भट्टराई होस् कि माधव नेपाल,’ उहाँले भन्नुभयो, ‘जनताको छानविनको कठघरामा उहाँहरु उभिनैपर्छ ।’ गठबन्धन फुटाएर सरकार परिवर्तन नगरी अहिलेको विकृति अन्त्य नुहुने उहाँको भनाई थियो ।