नेपालगञ्ज झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते, झडपमा सेना परिचालन

नेपालगञ्ज, १६ असोज । बाँकेको नेपालगञ्जमा जारी निषेधाज्ञाका क्रममा भएको झडपमा परेर तीन सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् । दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको हाे । उनीहरुको विभिन्न स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

हिन्दू र मुस्लिम समुदायबीच बढ्दै गएको विवादपछि साम्प्रदायिक तनाव उत्पन्न हुने नदिन मंगलबार दिउँसो १ बजेबाट कर्फ्यू लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले प्रेस विज्ञप्ति जारी गर्दै नेपालगञ्जमा शान्ति सुव्यवस्था कायम गर्नका लागि जिल्लास्थित सबै सुरक्षा निकायका सुरक्षाकर्मी प्रभावकारी एवं समन्वयात्मक रुपमा परिचालन भएको जनाएको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञाका क्रममा सुरक्षाकर्मीबाट सामान्य बल प्रयोग भएको जनाउँदै स्थिति नियन्त्रणमा रहेको उल्लेख गरेको छ । अहिलेको परिस्थितिमा जिल्लाका सबै राजनीतिक दल, नागरिक समाजलगायत आम नागरिकबाट सामाजिक सदभाव र शान्ति कायम गर्न महत्वपूर्ण भूमिकाको स्थानीय प्रसासनले अपेक्षा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐनको दफा ६ (२) बमोजिम नेपाली सेनाको सहयोग लिएकोसमेत जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय, बाँकेले आज दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।