वर्षाले चितवनका विभिन्न क्षेत्रका धानबालीमा क्षति

चितवन,२१ असोज । केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ ।

पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् ।
धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिनुभयो ।

“अहिले नै पानीले त्यति ठूलो क्षति पुर्याएको छैन”, उहाँले भन्नुभयो, “अझै केही दिन पानी पर्ने हो भने यहाँ समस्या हुन्छ ।” उहाँका अनुसार चितवनमा एक सातापछि अधिकांश स्थानमा लगाएको धान काट्न सुरु हुन्छ ।

केही भागमा पाकेर काट्न तयार परेको धानसमेत पानीले ढलाएको उहाँले बताउनुभयो । यतिखेर सिँचाइको सुविधा रहेको पूर्वी चितवनमा धान काट्ने समय भएको छ । पूर्वी चितनका अधिकांश किसानले असार १५ मा धान रोपेर सक्ने गर्दछन् ।

भरतपुर महानगरपालिका–१६ स्थित शरणपुरका खेतमा पानीले निथ्रुक्क भिजेको धान उठाउँदै गर्दा भेटिएका सुनिल दवाडीले भन्नुभयो, “धान रोप्न गरेको लगानी पनि खेर गयो ।” खेत रोप्न रु २५ हजार लागेको उहाँले बताउनुभयो । लगातार परेको पानीमा डुबेर धान उम्रिएको छ ।

शरणपुरकै मधुमाया खनाल लामिछानेले पनि पाँच कठ्ठामा धान रोप्नुभएको थियो । केही दिनदेखिको पानीले सबै काटेर भित्र्याउन ठिक्क पारेको धान डुबाएको उहाँले बताउनुभयो ।

समयमै मल, बीउ र सिँचाइको असुविधाबीच लगाएर भित्र्याउन ठिक्क पारेको धान पानीले डुबाएपछि किसान चिन्तामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *