लाओससंग नेपाल बराबरीमा राेकियाे

काठमाडौं, २५ असोज । विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग १–१ गोलको बराबरी खेलेको हो । नेपालका लागि अन्जन विष्टले कीर्तिमानी गोल गर्दै खेल बराबरी गरेका थिए ।

खेलकाे ४८ औं मिनेटमा अन्जन विष्टले नेपालको लागि बराबरी गोल फर्काए । एरिक विष्टको कर्नरमा अञ्जनले हेडमार्फत उत्कृष्ट गोल गरेका हुन् ।

नेपालको लागि यो उनको कीर्तिमानी गोल हो । अन्जनले उक्त गोल पछि नेपालका लागि सर्वाधिक १३ गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गरेका छन् ।

निराजनले हरिको कीर्तिमान बराबरी गरेको १५ वर्षपछि अन्जनले दुई खेलाडीको कीर्तिमानलाई भेट्टाएका हुन् ।

बराबरी गोल गरेपछि नेपालले लाओसमाथि लगातार दबाब बनाएको थियो । तर अर्को गोल भने थप्न सकेन र बराबरीमै चित्त बुझायो ।