एनपिएलको लिग चरण समाप्त, लुम्बिनी शीर्ष स्थानमा रहँदै प्लेअफमा
काठमाडौँ, ३० कात्तिक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको लिग चरणका खेल सकिएका छन् । आइतबार सम्पन्न दुई खेलको नतिजासँगै लिग चरण पूरा भएको हो । लिग चरणको समाप्तिसँगै चार टोलीले प्लेअफमा स्थान सुरक्षित गरेका छन् भने बाँकी चार टोलीको उपाधि यात्रा टुङ्गिएको छ ।
यस संस्करणमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै अङ्क तालिकाको शीर्ष स्थान हासिल गरेको छ । केही टोलीले सुरुआतदेखि नै निरन्तर राम्रो प्रदर्शन गरे पनि केही टोली भने अपेक्षित लय समात्न असफल भए । ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गर्ने टोली प्लेअफमा पुग्दा कमजोर प्रदर्शन गर्ने टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।
लिग चरणमा सर्वाधिक सफल टोली बनेको लुम्बिनी लायन्सले सात खेलबाट ११ अङ्क जोड्यो । कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पाँच खेलमा जित, एक खेलमा हार र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो । गत संस्करणको उपाधि विजेतासमेत रहेको लुम्बिनीले यसपटक पनि आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिँदै शीर्ष स्थानमा रहेर प्लेअफमा स्थान बनाएको हो ।
ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलित प्रदर्शन गरेको लुम्बिनी अब लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा हुनेछ । कप्तान रोहितको नेतृत्वमा टोलीले देखाएको सामूहिक प्रदर्शनले उसलाई उपाधि रक्षाको बलियो दाबेदार बनाएको छ ।
त्यस्तै, लगातार दुई संस्करण फाइनल खेलेको सुदूरपश्चिम रोयल्सले पनि यसपटक आफ्नो बलियो उपस्थिति कायम राखेको छ । कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिमले सात खेलमध्ये पाँचमा जित र दुईमा हार व्यहोर्दै १० अङ्क जोड्यो । अङ्क तालिकाको दोस्रो स्थानमा रहेको सुदूरपश्चिम लगातार तीन संस्करण प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।
अघिल्ला दुई संस्करणमा फाइनलसम्म पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक भने विगतको अनुभवलाई उपाधिमा बदल्ने योजनामा छ । टोलीले लिग चरणमा देखाएको निरन्तर प्रदर्शनलाई प्लेअफमा समेत कायम राख्न सके उपाधि दौड थप रोमाञ्चक बन्नेछ ।
यसैगरी, काठमाण्डु गोर्खाजले पनि प्रभावशाली प्रदर्शन गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ । करण केसीको कप्तानीमा रहेको काठमाण्डुले सात खेलमध्ये चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्क जोड्यो । अङ्क तालिकाको तेस्रो स्थानमा रहेको काठमाण्डु लगातार दोस्रोपटक प्लेअफमा पुगेको हो ।
लिग चरणमा केही बलिया टोलीलाई चुनौती दिएको काठमाण्डुको प्रदर्शनमा उतारचढाव देखिए पनि निर्णायक खेलमा प्राप्त जितले प्लेअफको यात्रा सुनिश्चित गर्यो । अब टोलीले उपाधि यात्रालाई अघि बढाउन आफ्नो प्रदर्शनमा थप सुधार गर्नुपर्नेछ ।
प्लेअफमा पुग्ने चौथो टोली चितवन राइनोज बनेको छ । सात खेल खेलेको चितवनले तीनमा जित र तीनमा हार व्यहोर्दा एक खेल वर्षाका कारण रद्द भएको थियो । सात अङ्क जोडेको चितवन अङ्क तालिकाको चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो ।
लिग चरणमा अपेक्षाकृत स्थिर प्रदर्शन गर्न नसकेको चितवनले आवश्यक खेलमा जित निकाल्दै शीर्ष चारमा स्थान बनाउन सफल भयो । अब टोलीसामु लिग चरणमा देखिएका कमजोरी सुधार्दै नकआउट चरणमा प्रभावशाली प्रदर्शन गर्ने चुनौती छ ।
गत संस्करणमा लिग चरणको दोस्रो स्थानमा रहेको विराटनगर किङ्सका लागि भने यसपटकको प्रतियोगिता सुखद रहन सकेन । सात खेलमध्ये तीनमा जित र चारमा हार व्यहोरेको विराटनगर आठ टोलीमध्ये पाँचौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।
अघिल्लो संस्करणमा बलियो उपस्थिति जनाएको विराटनगरबाट यसपटक पनि राम्रो प्रदर्शनको अपेक्षा गरिएको थियो । तर, लिग चरणमा निरन्तरता कायम राख्न नसक्दा टोली शीर्ष चारमा पर्न असफल भयो । प्रतिस्पर्धात्मक प्रतियोगितामा साना कमजोरीसमेत महँगो साबित हुँदा विराटनगरको प्लेअफ यात्रा टुङ्गिएको छ ।
कर्णाली याक्सले पनि यस संस्करणमा अपेक्षित सफलता हासिल गर्न सकेन । सात खेलमध्ये तीनमा जित र चारमा हार व्यहोरेको कर्णाली छ अङ्कसहित छैटौँ स्थानमा रह्यो । केही खेलमा प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि त्यसलाई निरन्तर जितमा परिणत गर्न नसक्दा टोली प्लेअफमा पुग्न असफल भयो ।
पोखरा एभेन्जर्सका लागि पनि तेस्रो संस्करण निराशाजनक बन्यो । सात खेलमध्ये दुईमा मात्र जित निकालेको पोखराले पाँच खेलमा हार व्यहोर्दै चार अङ्क जोड्यो । अङ्क तालिकाको सातौँ स्थानमा रहेको पोखराले यसपटक पनि प्लेअफमा स्थान बनाउन सकेन ।
एनपिएलका तीनवटै संस्करणमा सहभागिता जनाएको पोखरा हालसम्म प्लेअफमा पुग्न सकेको छैन । गत संस्करणमा पाँचौँ स्थानमा रहेको टोलीले यसपटक पनि आफ्नो प्रदर्शनमा अपेक्षित सुधार गर्न नसक्दा आगामी संस्करणका लागि खेल रणनीति र टोलीको समग्र प्रदर्शनमा सुधार गर्नुपर्ने देखिएको छ ।
पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका लागि भने यसपटकको प्रतियोगिता सबैभन्दा निराशाजनक रह्यो । सात खेलमध्ये दुईमा मात्र जित निकालेको जनकपुरले पाँच खेलमा हार व्यहोर्दै चार अङ्क जोड्यो । अङ्क तालिकाको अन्तिम अर्थात् आठौँ स्थानमा रहेको जनकपुर प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो संस्करणको उपाधि जितेर बलियो पहिचान बनाएको जनकपुरले त्यसपछिका संस्करणमा भने अपेक्षित प्रदर्शन गर्न सकेको छैन । गत संस्करणमा पनि अङ्क तालिकाको पुछारमा रहेको जनकपुर यसपटक पनि अन्तिम स्थानमै सीमित भयो । लगातार कमजोर नतिजाले टोलीको आगामी यात्रालाई चुनौतीपूर्ण बनाएको छ ।
लिग चरणका खेल सकिएसँगै अब एनपिएल उपाधिको निर्णायक चरणमा प्रवेश गरेको छ । प्लेअफमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
लिग चरणमा शीर्ष स्थान हासिल गरेको लुम्बिनी उपाधि रक्षा गर्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम, काठमाण्डु र चितवन पहिलोपटक एनपिएलको उपाधि उचाल्ने योजनासहित मैदानमा उत्रनेछन् । अब प्लेअफका खेलले यस संस्करणको च्याम्पियनको टुङ्गो लगाउनेछन् ।
