सिङ्गापुरले दियाे जितका लागि नेपाललाई १४६ रनको चुनौती
काठमाडौं, १३ कात्तिक । आइसिसी टि ट्वान्टी विश्वकप एशिया छनोटको पहिलो खेलमा सिङ्गापुरले नेपाललाई जितका लागि १४६ रनको चुनौती दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको हो ।
सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन् ।
त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए । उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन् । त्यस्तै मनप्रित सिंहले २४ तथा अक्षा पुरीले १३ रन जोडे ।
नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई/दुई विकेट लिए ।
नेपाल दोस्रो पटक टि ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रेको छ ।