बालुवाटार र शीतल निवासमा पनि एक महिनासम्म निषेधाज्ञा जारी

काठमाडौं, ६ मंसिर । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले बालुवाटार र शीतल निवासमा पनि एक महिनासम्म निषेधाज्ञा जारी गरेकाे छ ।

प्रशासनले माइतीघरपछि राष्ट्रपति निवास शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको हाे ।

प्रशासनले राष्ट्रपति कार्यालयको पूर्व पवित्र वर्कशपसम्म, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधको आदेश जारी गरेको छ ।

यस्तै बालुवाटारमा पवित्र वर्कशप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोक र सभामुखदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म पाँच जनाभन्दा बढी भेला हुन नदिने आदेश जारी भएको हो ।

मंसिर ५ गतेबाट लागू हुनेगरी आगामी ३० दिनसम्मका लागि यी स्थानमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन र सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रशासनले जारी गरेको विज्ञप्तिमा जनाएकाे छ ।